काठमाडौँ । राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसदहरूले मुलुकका समसामयिक र गम्भीर जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले आपराधिक घटनामा संलग्नलाई कारबाही, न्यायपालिकाको निष्पक्षता र पूर्वाधार विकासमा देखिएका समस्याहरूबारे सरकारलाई सचेत गराएका हुन्।
सांसदहरू पूजा चौधरी र रुक्मिणी कोइराला बलात्कार तथा हत्याका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सांसद चौधरीले ३ वर्षीया बालिकाको बलात्कार तथा हत्यामा संलग्नलाई बाल सुधार गृहमा पठाउनु र अन्यलाई धरौटीमा छाड्नु न्यायोचित नभएको बताइन् । उनले यस्ता आपराधिक मनोवृत्ति भएका व्यक्तिहरूलाई समाजमा खुला रूपमा छोड्नु गलत भएको भन्दै दोषीलाई जन्मकैदको माग गरिन्।
यसैगरी, सांसद रुक्मिणी कोइरालाले पछिल्ला समय देशका विभिन्न भागमा महिला हिंसा र बलात्कारका घटना दोहोरिरहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराइन्।
सांसद विष्णुबहादुर विश्वकर्माले भदौ २४ गते सर्वोच्च अदालतमा भएको तोडफोडको घटनाप्रति गम्भीर असन्तुष्टि जनाए । उनले सर्वोच्च अदालत जस्तो गरिमामय संस्थाको सुरक्षा व्यवस्था चुस्त बनाउन र यस्ता घटनाको उच्चस्तरीय छानबिन गरी दोषीउपर कडा कारबाही गर्न सरकारसँग माग गरे।
सांसद कृष्णप्रसाद अधिकारीले बाटो, घाटो, पुल र सडकको अवस्था दयनीय रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । रसुवा जिल्लाका विभिन्न गाउँपालिकामा बाटोघाटोको अभावमा स्थानीय नागरिकले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले तत्काल सडक मार्ग सुचारु गर्न र आवश्यक खाद्य सामग्री, औषधी लगायतका उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्था मिलाउन आग्रह गरे।
साथै, उनले स्थानीय तहसँग समन्वय गरेर तत्काल काम थाल्न सरकारसँग माग गरे।






