काठमाडौं । सात–सातवटा अदालतले सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेलाई अभियुक्त ठानेको छ ।
उनी अहिले नख्खुस्थित कारागारमा छन् । रविलाई आफ्नै पार्टीका नेता कार्यकर्ताले भेट्नु सामान्य हो । तर देशको कार्यकारी भइसकेका दुई दुईजना नेता सहकारी ठगीका अभियुक्तलाई भेट्नुलाई सामान्य मानिएको छैन ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रविलाई ललितपुरको नख्खु कारागार पुगेर भेटे । यसअघि अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रविलाई भैरहवास्थित कारागारमै भेटे । अदालतले नै पुर्पक्षमा पठाएको अभियुक्तलाई पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले भेटेको विषय संसदमा समेत उठिसकेको छ ।
कांग्रेस महामन्त्री गगन थापाले कसले पहिले भेट्ने भन्ने पूर्वप्रधानमन्त्रीबीच लिगलिगे दौड सुरु भएको भन्दै ग्यंग्य गरे । रविलाई प्रचण्डले भेटेर फर्केपछि उनका बारेमा मिडियालाई प्रतिक्रिया दिएपछि सर्वसाधारणले समेत आलोचना गरिरहेका छन् ।
प्रचण्डले भनेका थिए– ‘लामिछाने दुब्लाउनुभएको छ । उहाँको भाषामा भैरहवामा गोलघर जसरी राखिएको रहेछ । उहाँले म पीडामा थिएँ भन्नुभयो । मेरो जस्तो मुद्दामा उन्मुक्ति पाउने र मलाई मात्र लखेटियो भन्नुभयो ।’
प्रचण्ड प्रधानमन्त्री भएका बेला रवि दुईदुईपटक गृहमन्त्री बनेका थिए । रविलाई भेटेर आएपछि अहिले सामाजिक सञ्जालमा एकजना १७ हजारको हत्या गरेर पाँच हजारको जिम्मा लिन्छु भन्नेले सहकारी ठगीको कसुरमा थुनामा रहेकालाई भेट्नु कुन नौलो भयो र भन्दै आलोचना गरिरहेका छन् ।
देशकै कार्यकारी भइसकेको व्यक्तिले अदालतबाट सफाइ नपाइञ्जेल नभटेको भए हुने भन्दै प्रचण्डको आलोचना भइरहेको छ । २०८४ को निर्वाचनलाई मध्यनजर गरेर पनि प्रचण्डले रविलाई आफू साथमै रहेको देखाउन खोजेको टिप्पणी हुन थालेको छ ।






