काठमाडौं । एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच भएको सहकार्यप्रति दुवै पार्टीमा तीव्र असन्तुष्टि फैलिएको छ । शीर्ष नेतादेखि तल्लो तहका कार्यकर्ताले समेत केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको सहकार्य रुचाएका छैनन् । ओली र प्रचण्डबीच भविष्यमा एउटै पार्टी बनाउने तयारी छ ।
नेकपाका सहसंयोजक माधवकुमार नेपालले त ओली र प्रचण्डको सहकार्यको विरोध गर्दै आइतबार नयाँ बानेश्वरस्थित होटल अर्यालमा आफू पक्षीय नेताहरूको भेला राखेका थिए । प्रदेशमा कांग्रेससँग सल्लाह नै नगरी बनाउन थालिएको सरकार गठनप्रति नेपाल असन्तुष्ट छन् ।
एमालेमा त खासगरी तल्लो तहमा व्यापक असन्तुष्टि देखिएको छ । ओलीलाई अध्यक्ष््राबाट छाड्न दबाब परिरहेका बेला प्रचण्डसँगको सहकार्य हुँदै एकताको रणनीतिले पार्टीको सांगठनिक संरचना ध्वस्त हुने उनीहरूको बुझाइ छ । अहिले सार्वजनिक फोरम र सामाजिक सञ्जालमा यो विषयले ज्यादा प्राथमिकता पाएको छ ।
एमाले नेता गोकुल बासकोटाले ओली र प्रचण्डको सहकार्यलाई अन्तिम भोजको संज्ञा दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले सत्ता समीकरणका निर्णय केही सीमित नेताबीच मात्र हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
बासकोटाले एमाले र नेकपाले सत्ता समीकरणमार्फत कांग्रेस नेता शेरबहादुर देउवालाई समेत चुनौती दिने अवस्था बनाएको उल्लेख गर्दै प्रदेश सरकारहरू किन बन्छन् र किन भत्किन्छन् भन्ने विषय आम नेता तथा कार्यकर्तालाई समेत जानकारी नहुने परम्परा बसेको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘सत्ता समीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए। खोपी सत्ता किन बन्छन् र भत्किन्छन् ? ती सभाका केही सदस्य र खास नेताबाहेक अरूले सुइँकोसमेत नपाउने कुरा परम्परा नै बन्यो । हाँडी बोकेर स्वर्ग कि नर्क बतासझैँ बत्तिएका छन्। विजय मल्लको ‘अन्तिम भोज’ नै त यो होइन होला ? अचम्म लाग्छ ।’
बासकोटाको यो अभिव्यक्तिलाई प्रदेश सरकार गठन र सत्ता साझेदारीबारे एमालेभित्रकै असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ ।





