काठमाडौं । प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाएको काठमाडौं महानगरपालिकाले स्वदेशी फूल तथा माला बिक्रीका लागि ३३ स्थान तोकेको छ। महानगरले बिक्रीस्थल निर्धारण गरेसँगै ती क्षेत्रमा फूलमाला किनबेच गर्नेको चहलपहल बढेको छ।
महानगरपालिकाका अनुसार नयाँ बानेश्वरस्थित एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरमा स्वदेशी फूलमाला बिक्री गर्न सकिनेछ।
त्यस्तै, चाबहिलको एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएल टावर अगाडि पनि बिक्रीस्थल तोकिएको छ। कमलादीको आईटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल, न्युप्लाजाको बज्र कम्प्लेक्स, स्वयम्भूको धर्मचक्र पार्क, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर तथा माछापोखरीका बुद्ध मल र गुणस्तर खाल्डोमा पनि फूलमाला बेच्न पाइनेछ।
यसैगरी कालिमाटी ब्यांक्वेट र चौखेल, हाँडीगाउँका वडा नम्बर ५ कार्यालयअगाडिको डबली र गणेश मन्दिर डबली, सामाखुशीको कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोंगबु, चप्पल कारखाना र बालुवाटारको बिग मार्टलाई पनि बिक्रीस्थल तोकिएको छ।
टेबहाल मन्दिर परिसर, लगन, जैसिदेवल र भृकुटीमण्डपमा समेत स्वदेशी फूलमाला बिक्री गर्न सकिने महानगरले जनाएको छ।
नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाले उचित बजार पाऊन् र उपभोक्तालाई खरिद गर्न सहज होस् भन्ने उद्देश्यले वातावरण विभागसँगको समन्वयमा बिक्रीस्थल तोकिएको महानगरको भनाइ छ।
महानगर प्रहरी बलले सूचना जारी गर्दै प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा जफत गर्ने चेतावनी दिएको छ।












