काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका नदी किनार, जोखिमयुक्त क्षेत्र तथा सार्वजनिक र सरकारी जग्गामा बनेका अवैध बस्ती हटाउने कार्य निरन्तर अघि बढाएको छ ।

यसैक्रममा काठमाडौँ महानगरपालिका वडा नं ११ थापाथलीस्थित बागमती नदी किनारको बस्ती खाली गरिएको छ। यस्तै वडा नं ९ गैरीगाउँ–सिनामङ्गल र वडा नं ३१ शान्तिनगरमा पनि बस्ती खाली गर्ने कार्य जारी रहेको छ। कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बुद्धचोक र वडा नं ९ मनोहरा टोलमा रहेका अवैध संरचना हटाउने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ सुकुम्बासी घरधुरी रहेको देखिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले अवैध संरचना हटाउने तथा बस्ती खाली गर्ने कार्य गरेको हो। सुरक्षाकर्मीहरूले प्रभावित नागरिकका सामान हटाउन र सुरक्षित स्थानमा सार्न समेत सहयोग गरेका थिए।

थापाथली क्षेत्रमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानका प्रभावित परिवारहरूसँग पनि सम्पर्क भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशालामा राखी विवरण संकलन गरिएको छ र अस्थायी रूपमा काठमाडौँका विभिन्न स्थानमा बसोबासको व्यवस्था मिलाइएको छ। घरायसी सामान सुन्दरीघाटस्थित राधास्वामी सत्सङ व्यासमा सुरक्षित रूपमा राखिएको छ।

अस्थायी रूपमा राखिएका परिवार वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान प्रक्रिया भोलिबाट सुरु गरिने भएको छ। प्रमाणीकरणपछि सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिने र त्यसपछि दीर्घकालीन व्यवस्थापन अघि बढाइने जनाइएको छ।