काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं ल्याएपछि प्रहरी प्रशासनले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नखु हिरासतमा पुर्‍याएको छ । लामिछानेलाई साधारण मार्ग प्रयोग नगरी नेपाल आयल निगमतर्फको पछाडिको बाटो प्रयोग गरेर बाहिर ल्याइएको थियो ।

लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइने जानकारी सार्वजनिक भएपछि उनको स्वागतका लागि ठूलो संख्यामा रास्वपाका नेता तथा कार्यकर्ता विमानस्थलमा भेला भएका थिए । पार्टीका सयौँ कार्यकर्ताले झण्डा बोकेर नाराबाजी गर्दै लामिछानेलाई प्रत्यक्ष देख्ने अपेक्षा गरेका थिए । तर सुरक्षाकर्मीले कडा सुरक्षा घेराबन्दी गर्दै उनलाई कार्यकर्ताबाट लुकाएर पछाडिको बाटो प्रयोग गरी बाहिर निकालेपछि समर्थकहरू निराश बने ।

ADVERTISEMENT

कार्यकर्ताले लामो समयसम्म विमानस्थल वरिपरि प्रतीक्षा गरेका थिए । तर लामिछानेलाई देख्न नपाएपछि उनीहरूले असन्तुष्टि जनाए । केही नेताहरूले कार्यकर्तालाई टाढा राख्ने उद्देश्यले प्रहरी प्रशासनले यस्तो कदम चालेको आरोप लगाएका छन् ।

यसअघि पनि लामिछानेलाई हिरासत वा अदालतमा हाजिर गराउने बेलामा कार्यकर्ता ठूलो संख्यामा उपस्थित हुने गरेका थिए । तर यस पटक कार्यकर्ताले ‘हेरेको हेर्‍यै’ मात्र गर्नुपर्ने अवस्था बनेको छ ।

ADVERTISEMENT