काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङ्ग सेवालाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित नेपालको पहिलो रियल–टाइम इन्टरप्राइजेज  रीशोर्ष प्लानिङ (ERP) एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक गरेको छ। बैंकले  आईएमएस सफ्टवेयर प्रा. लि.  सँगको सहकार्यमा व्यवसायी ग्राहकलाई लक्षित गर्दै यो नवीन सेवा सञ्चालनमा ल्याएको हो।

नयाँ प्ल्याटफर्ममार्फत ERP सफ्टवेयर प्रयोग गर्ने व्यवसायीहरूले बैंकमा धाउनुपर्ने झन्झट तथा लामो कागजी प्रक्रिया बिना नै बिनाधितो कर्जा प्राप्त गर्न सक्नेछन्। कर्जा आवेदनदेखि स्वीकृति, वितरण र भुक्तानीसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट सम्पन्न हुने व्यवस्था गरिएको बैंकले जनाएको छ।

ADVERTISEMENT

ERP प्रणालीसँग प्रत्यक्ष एकीकरण गरिएकाले व्यवसायको बिक्री, कारोबार, मौज्दात तथा अन्य वास्तविक समय (Real-Time) का वित्तीय विवरणका आधारमा कर्जा योग्यता मूल्याङ्कन गरिनेछ। यसले परम्परागत धितो आवश्यकताविनै छिटो र तथ्यमा आधारित कर्जा निर्णय लिन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

बैंकका अनुसार ERP प्रयोग गर्ने व्यवसायहरूले आफ्नै कारोबार र कार्यसम्पादनका आधारमा अधिकतम ५ लाख रुपैयाँसम्मको चालु पूँजी कर्जा प्राप्त गर्न सक्नेछन्। उक्त कर्जा १२ महिनासम्मको समान मासिक किस्ता (EMI) मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

सेवाको प्रयोग, माग तथा नेपाल राष्ट्र बैंकको नीतिगत निर्देशनअनुसार आगामी दिनमा कर्जा सीमा विस्तार गर्दै लैजाने योजना बैंकको रहेको छ। यस पहलले विशेषगरी साना तथा मझौला उद्यम (SMEs) हरूलाई वित्तीय पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपालमा ९ लाखभन्दा बढी साना तथा मझौला उद्यम सञ्चालनमा रहेको सन्दर्भमा यो डिजिटल कर्जा प्रणालीले वित्तीय समावेशीकरणलाई थप मजबुत बनाउने, उद्यमशीलता प्रवर्द्धन गर्ने तथा आर्थिक गतिविधि विस्तारमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले व्यक्त गरेको छ।

हाल कुमारी बैंकले देशभर २८६ शाखा र ४१ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले प्रविधिमैत्री वित्तीय सेवामार्फत डिजिटल रूपान्तरणलाई गति दिने तथा ग्राहकलाई अझ सरल, सुलभ र प्रभावकारी बैंकिङ्ग सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ।