काठमाडौं । पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेनले देश दौडाहामा जाँदा झन्डा र ब्यानर नराखेपछि रास्वपा झस्किएको छ ।  रास्वपाले सभापति रवि लामिछाने र बालेनको तस्बिर अंकित भ्रमण तालिका निकाल्न  थालेको छ । हाल सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला भ्रमणमा रहेका बालेन एकल रूपमा हिँडेपछि रास्वपाले यस्ताे निर्णय गरेकाे हाे ।

बिहीबार बिहानदेखि रास्वपाले पार्टीको आधिकारिक फेसबुक पेजमार्फत यस्तो रणनीति अख्तियार गरेको हो । बुधबारसम्म बालेनका सहयोगीले उनको कार्यक्रमबारे जानकारी दिँदै आएका थिए । बालेनले आफू निकट उम्मेदवारको निर्वाचन क्षेत्रमात्र रोजेपछि रास्वपामा आशंका बढेको हो । अहिले उनी कैलालीबाट छिरेर पहाडी जिल्ला बझाङ र बाजुरा पुगेका छन् ।

पार्टी सभापति रवि लामिछाने अस्वस्थ भई अस्पताल भर्ना भएका बेला बालेन एक्लै देश दौडाहामा छन् । झापाबाट फर्किएर सुदूरपश्चिम निस्किनुअघि उनी पार्टी केन्द्रीय कार्यालय नगई आफ्ना सहयोगी कुमार बेनको ज्वागलस्थित घरलाई सम्पर्क स्थान तोकेर भेटघाट केन्द्र बनाए ।त्यसपछि माघ १२ मा नेपालगञ्ज उत्रिएका उनी त्यहाँ हुँदै सुदूरपश्चिम पुगे ।

ADVERTISEMENT

काठमाडौं महानगरमा हुँदा बिरलै सार्वजनिक स्थानमा देखिने बालेन यतिबेला सेलेब्रिटी स्टाइलमा देश दौडाहामा छन् । सार्वजनिक कार्यक्रममा त्यति नजाने उनी जिल्ला जिल्ला पुग्न थालेपछि हेर्न आउनेको भिड लाग्न थालेको छ। जनकपुर पुग्दा सुरू भएको भिड अहिले हरेक जिल्लामा बाक्लो देखिन थालेको छ। रास्वपा कार्यकर्तासँगै उनलाई हेर्न आउने अन्य दलका कार्यकर्ता र सर्वसाधारणको संख्या पनि बाक्लो छ । जसलाई अहिले रास्वपाको लोकप्रियता बढेको भनेर प्रचार गर्नसमेत थालिएको छ ।

ADVERTISEMENT

बुधबारसम्म बालेनको मात्रै तस्बिर राखेर कार्यक्रम तालिका दिने गरेको रास्वपाले बिहीबारदेखि रविको पनि तस्बिर जोड्न थालेको छ।बालेनको एकल सक्रियताले रविलाई खतरा महसुस गराएको चर्चाबीच उनको सचिवालयले अब दुईजना शीर्ष नेताको तस्बिर राख्न थालेको नेताहरुले बताउन थालेका छन् ।

ADVERTISEMENT