काठमाण्डौ, सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने र संसद विघटन गर्ने प्रक्रियामा प्रमुख राजनीतिक दलहरूको सहमति रहेको खुलेको छ। स्रोतका अनुसार कार्कीले आफू प्रधानमन्त्री बन्नु अघि संसद विघटन गर्नुपर्ने अडान राखेकी थिइन्। यसबारे राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सम्झाउँदै यस्तो कदम भोलि अदालतले उल्ट्याउन सक्ने र त्यसले जेन–जी आन्दोलनकै लागि प्रतिकूल परिणाम ल्याउन सक्ने चेतावनी दिएका थिए।
राष्ट्रपति पौडेलले विभिन्न दलका शीर्ष नेताहरूसँग छलफल गरेर कार्कीलाई निर्वाचित नभई संविधानको धारा ६१(४) अनुसार प्रधानमन्त्री नियुक्त गर्न सकिने कुरा प्रस्तुत गरेका थिए। संविधानको संरक्षक र पालनकर्ताका रूपमा राष्ट्रपतिलाई यस्तो अधिकार रहेको व्याख्या गर्दै उनले दलहरूलाई सहमत गराएका थिए।
यस प्रक्रियामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहाको भूमिकासमेत महत्वपूर्ण रहेको बताइएको छ। साहाका कानुनी सल्लाहकार ओमप्रकाश आर्यालले संविधानअनुरूपको व्यवस्थाबारे मेयरलाई बुझाएपछि मात्र साहाले संसद विघटन र कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रियामा समर्थन जनाएका थिए। अन्ततः राजनीतिक सहमति र संवैधानिक प्रावधानको आधारमा संसद विघटनसँगै कार्कीको प्रधानमन्त्री नियुक्तिको बाटो खुलेको हो।












