काठमाडौं। सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाले देशभर आक्रोश उत्पन्न गरिरहेका बेला राजधानीको माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन्। स्वतःस्फूर्त रूपमा भेला भएका प्रदर्शनकारीहरूले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कारबाही गर्न र महिला सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका हुन्।

प्रदर्शनका क्रममा सहभागीहरूले “छोरीहरूको सुरक्षा गरौं”, “इनिसालाई न्याय दे”, “हिंसा सहिँदैन” जस्ता नारा लगाउँदै प्लेकार्ड र ब्यानरसहित विरोध जनाएका थिए। उनीहरूले महिला हिंसाका घटनाहरू बढ्दै गएको भन्दै वर्तमान कानुनी व्यवस्था र कार्यान्वयनप्रति गम्भीर प्रश्न उठाएका छन्।

ADVERTISEMENT

प्रदर्शनकारीहरूले दोषीलाई शीघ्र पहिचान गरी कारबाही गर्न, पीडित परिवारलाई न्याय दिलाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन कडा नीति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्। उनीहरूले सरकार र सरोकारवाला निकायलाई जिम्मेवार बन्न आग्रह गर्दै महिला सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।

ADVERTISEMENT

इनिसा विक सुर्खेतको गुर्भाकोट नगरपालिका–६ निवासी हुन्। उनी फागुन २३ गते बिहान ट्युसन पढ्न घरबाट निस्केकी थिइन्। साँझसम्म घर नफर्केपछि परिवारले खोजी सुरु गरेको थियो। त्यसक्रममा वीरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकैको सामुदायिक वन क्षेत्रमा उनको शव फेला परेको थियो।

पोस्टमार्टम रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखाएको छ। घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको जनाएको छ।

ADVERTISEMENT