काठमाडौँ। देशका विभिन्न स्थानमा गरिएको सुरक्षा अपरेसनका क्रममा प्रहरीले लागुऔषधसहित ४१ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका अनुसार नियमित गस्ती तथा विशेष निगरानीका क्रममा विभिन्न जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसबिनै बिक्री वितरण गर्न नपाइने १३० थान ट्रामाडोल ट्याब्लेटसहित एक जना किशोर पक्राउ परेका छन्। उनीबाट ६८ हजार २०० रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी कैलालीको टीकापुर नगरपालिका–१ बाट एक, घोडाघोडी नगरपालिका–१० पहलमानपुरबाट दुई, सुर्खेतको वीरेन्द्रनगर–८ सिम्ताली चोकबाट दुई, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ बाट एक, सुनसरीको इनरुवा–४ बसचोकबाट दुई र दाङको घोराही–१५ भानुचोकबाट दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट नगद रकमका साथै लागुऔषध तौल गर्न प्रयोग गरिने तराजु पनि बरामद गरिएको छ। शनिबार मात्रै सञ्चालन गरिएको अपरेसनमा यी सबै पक्राउ परेका हुन्।
यसैगरी सुकेधाराबाट एक र बल्खुबाट दुई जनालाई ९९८ थान ट्रामाडोल ट्याब्लेट तथा १६ हजार ५०० रुपैयाँ नगदसहित पक्राउ गरिएको छ।
पूर्वी तथा पश्चिमी क्षेत्रमा समेत व्यापक कारबाही गरिएको छ। इलामको सूर्योदय नगरपालिका–११ कालापानीबाट दुई, झापाको भद्रपुर–५ बाट नौ र शिवसताक्षी–१ बाट दुई जनालाई पक्राउ गरिएको छ। त्यस्तै कञ्चनपुरको वेदकोट–८ र भीमदत्त–११ गड्डाचौकीबाट दुई–दुई जना नियन्त्रणमा लिइएका छन्।
रुपन्देहीको बुटवल–१५ गोब्रैया र सैनामैना–५ बुद्धनगरबाट तीन जना पक्राउ परेका छन्। विराटनगर–१५, रुकुम पश्चिमको त्रिवेणी–२, दाङको घोराही–५ शीतलपुर, बर्दियाको बढैयाताल–६ रानीपुरबाट चार जनालाई नियन्त्रणमा लिइएको छ।
त्यस्तै पोखरा–५ प्रस्याङबाट दुई र धनुषाको गणेशमान चारनाथ–२ राधापुरबाट एक जनालाई नाइट्राजेपाम ट्याब्लेटसहित पक्राउ गरिएको छ। उनीहरूबाट चिकित्सकको सिफारिसबिनै प्रयोग गर्न नपाइने २५० थान नाइट्राजेपाम बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले लागुऔषध नियन्त्रणका लागि देशभर निगरानी कडा पारिएको जनाएको छ। पछिल्लो समय विभिन्न जिल्लामा लागुऔषध कारोबार र प्रयोग बढ्दै गएको भन्दै नियन्त्रणका लागि निरन्तर अभियान सञ्चालन गरिने जनाइएको छ।







