काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भएको ‘जेन जी आन्दोलन’ सोमबार दिउँसो बानेश्वरतर्फ अघि बढ्दा स्थिति तनावपूर्ण बनेको छ। भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधस्वरूप आयोजित आन्दोलनले राजधानीको मुख्य क्षेत्रमा हजारौँ युवाको सहभागिता देखायो।

आन्दोलनकारीहरूले सुरुवातमै शान्तिपूर्ण ढंगले नाराबाजी गरेका थिए। उनीहरूले “भ्रष्टाचार बन्द गर”, “सामाजिक सञ्जाल हाम्रो अधिकार हो”, “जेन जी चिच्याउँछ, नेताको गोजी गिज्याउँछ” जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए। तर, माइतीघरबाट जुलुस बानेश्वरतर्फ अघि बढ्दै जाँदा आन्दोलनकारी र प्रहरीबीच धक्का–मुक्की भयो।

ADVERTISEMENT

प्रहरीले संसद भवन वरिपरिको सुरक्षा कडाइ गरेको थियो। आन्दोलनकारीहरूले त्यही सुरक्षा घेना तोड्ने प्रयास गर्दा प्रहरीलाई हस्तक्षेप गर्नुपर्‍यो। प्रहरीले जमिनमै बसेर नाराबाजी गरिरहेका केही युवामाथि लाठी प्रहार गरेको दृश्यहरू सामाजिक सञ्जालमार्फत तीव्रगतिमा फैलिएका छन्। प्रहरीका अनुसार भीड नियन्त्रणका लागि हल्का बल प्रयोग गर्नुपरेको हो।

ADVERTISEMENT

आन्दोलनकारीहरूले भने प्रहरीको कठोर हस्तक्षेपले आफ्नो शान्तिपूर्ण आन्दोलनमाथि धक्का पुगेको गुनासो गरेका छन्। उनीहरूको दाबीमा, “हामीले तोडफोड वा हिंसात्मक गतिविधि गरेका छैनौं, तर सरकारले प्रहरीमार्फत हाम्रो आवाज दबाउन खोज्यो।

 

ADVERTISEMENT

जेन जी आन्दोलन’ के हो?

जेन जी आन्दोलन’ हालका युवाहरू, विशेषगरी विश्वविद्यालय र कलेज विद्यार्थीहरूको स्वतःस्फूर्त पहल मानिन्छ। यो कुनै राजनीतिक दलसँग प्रत्यक्ष सम्बन्धित नभएको आयोजकहरूले दाबी गर्दै आएका छन्। उनीहरूले आफूलाई “नयाँ पुस्ताको आवाज” भन्दै भ्रष्टाचार, शक्ति दुरुपयोग र अभिव्यक्ति स्वतन्त्रतामाथि गरिएको अतिक्रमणको विरोधमा सडकमा उत्रिएका हुन्।

आन्दोलनकारीहरूको मूल मागमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय खारेज, शिक्षा तथा रोजगारीमा पारदर्शिता, र उच्चस्तरका नेताहरूलाई दण्डहीनताबाट मुक्त नगर्ने व्यवस्था सुनिश्चित गर्नु पर्छ भन्ने अडान छ।