काठमाडौं । नेपाली सेनाले जारी गरेको एक विज्ञप्तिमा हालको “Gen Z” आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्रीहरू तत्काल नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरिएको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाबाट सार्वजनिक गरिएको सूचनामा ती हातहतियारहरूको दुरुपयोग भई जनधनको क्षति हुने सम्भावना भएकाले सो कार्य नगर्न सबैलाई सचेत गराइएको छ।

ADVERTISEMENT

विज्ञप्तिमा भनिएको छ, “त्यस्ता हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकोले त्यस सम्बन्धी सूचना प्राप्त गर्नुहुने व्यक्तिहरुले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्नुहुन अनुरोध गरिन्छ।”

ADVERTISEMENT

यस्तै, सेनाले सुरक्षा निकायका पोशाकहरूको अनाधिकृत प्रयोग नगर्न पनि अपिल गरेको छ। हातहतियार वा गोलीगट्ठा बुझाउन ढिलाइ गर्ने वा अवैध रूपमा प्रयोग गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिइएको छ।