पोखरा – पोखरामा समेत ‘जेन्–जी आन्दोलन’को लहर पुगेको छ। भ्रष्टाचार र दण्डहीनताविरुद्ध उठिरहेको यो आन्दोलनमा आज पोखराका सयौं युवाले सडकमा उत्रिएर आक्रोश पोखेका छन्।
युवाहरू बिहानै पोखरा सभागृहमा भेला भई चिप्लेढुंगातर्फ जुलुससहित निस्किएका थिए। उनीहरूले हातमा “हाम्रो देश कसले बचाउँछ ?”, “लगानीभन्दा भ्रष्टाचार बढी”, “मेरो पैसा दे” जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए। जुलुस अघि बढ्दा उनीहरूले विभिन्न गीत र नाराबाजीमार्फत भ्रष्टाचारविरुद्ध आक्रोश पोखेका थिए।
उनीहरूले अबको पुस्ताले चुप लागेर बस्ने अवस्था नसकेको भन्दै परिवर्तनका लागि दबाब सिर्जना गर्न सडकमा आउनुपरेको बताएका छन्।सुरक्षाकर्मीले भने जुलुसलाई शान्तिपूर्ण ढंगले अगाडि बढ्न दिएको छ। हालसम्म कुनै झडप वा अप्रिय घटना नभएको प्रहरीले जनाएको छ।काठमाडौंमा सुरू भएको ‘जेन्–जी आन्दोलन’ दाङ, रुपन्देही हुँदै पोखरासम्म फैलिँदा यसले राष्ट्रिय रूप लिँदै गएको देखिएको छ। सामाजिक सञ्जालमा व्यापक चर्चा पाइरहेको यस आन्दोलनलाई मुलुकभरका युवाले निरन्तरता दिने संकेत देखिएका छन्।








