काठमाडौं, देशभर फैलिएको जेन्–जी आन्दोलनलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गरेको बलप्रयोगका कारण १७ जनाभन्दा बढी प्रदर्शनकारीको ज्यान गएको पुष्टि भएको छ। राजधानी काठमाडौंसहित पोखरा, दमक, बिराटनगरलगायतका शहरमा गोली प्रहार, लाठीचार्ज र अश्रुग्याँसका कारण सडक रक्ताम्य बनेको छ।

मृतकमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवाहरू रहेका छन्। उनीहरूलाई “भविष्यका कर्णधार” भन्दै राजनीतिक विश्लेषक र नागरिक समाजले वर्णन गरेका छन्। प्रदर्शनकारीहरूले यसलाई “नरसंहार” भन्दै सरकारविरुद्ध अझ ठूलो आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रदर्शनमा सहभागीहरूले सामाजिक सञ्जालमा फैलाएका तस्बिर र भिडियोले घटनाको भयावहता प्रस्ट पारेका छन्। शव सडकमा लडेका दृश्य, रक्ताम्य कपडामा साथीहरूलाई उठाइरहेका युवाहरूका दृश्यले जनमानसमा गहिरो आक्रोश फैलाएको छ।

ADVERTISEMENT

तर यस्तो भयावह परिस्थितिमा समेत प्रधानमन्त्री र गृहमन्त्री मौन बसिरहेको भन्दै व्यापक आलोचना भएको छ। विपक्षी दल र नागरिक समाजका अगुवाहरूले सरकारको मौनतालाई “दमनलाई समर्थन गर्ने कदम” भन्दै कडा आपत्ति जनाएका छन्।

ADVERTISEMENT

राजनीतिक विश्लेषकहरू भन्छन्, “देशको उच्च नेतृत्वले युवापुस्ताको मागलाई सम्बोधन गर्ने सट्टा बलप्रयोगमार्फत दबाउन खोज्दा राज्यले ठूलो क्षति व्यहोर्नुपर्नेछ। जनताको विश्वास गुम्नु भनेको लोकतान्त्रिक आधारशिलामै प्रहार हुनु हो।”

अहिले मुलुकका विभिन्न अस्पतालमा सयौं घाइतेको उपचार भइरहेको छ। ट्रमा सेन्टर मात्र होइन, पोखरा र दमकका अस्पतालहरूमा पनि घाइतेहरूको भीड छ। कतिपयको अवस्था गम्भीर छ।

युवापुस्ताले भने आफ्नो आन्दोलन अझ बलियो हुने घोषणा गरेका छन्। उनीहरूको भनाइ छ – “रगत बगेको छ, साथीहरू गुमाएका छौं, तर आवाज अझै बुलन्द बनाउनेछौं।”