काठमाडौं । तनहुँ जिल्लाको शेराफाँट क्षेत्रमा यात्रुवाहक बस दूर्घटनामा परेको छ।

जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीका अनुसार दुर्घटनाग्रस्त बसमा सवार यात्रुको उद्धारका लागि प्रहरी तथा स्थानीयबासी सक्रिय रूपमा खटिएका छन्। प्रारम्भिक जानकारीअनुसार बसमा करिब ३० जना यात्रु सवार रहेको बताइएको छ।

ADVERTISEMENT

उक्त बस पोखराबाट छुटेको थियो र दमौलीतर्फ गइरहेको अवस्थामा दुर्घटनामा परेको जनाइएको छ। यद्यपि बसको अन्तिम गन्तव्य भने हालसम्म खुल्न सकेको छैन। दुर्घटनाको कारणबारे पनि आधिकारिक जानकारी आइसकेको छैन।

ADVERTISEMENT

घटनास्थलमा अहिले नेपाल प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकायको टोली परिचालित भई घाइतेहरूलाई नजिकका स्वास्थ्य संस्थामा पुर्‍याउने काम भइरहेको छ। घाइतेहरूको अवस्था र संख्या सम्बन्धी विस्तृत विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ।

सहायक सीडीओ रेग्मीका अनुसार हालसम्म मानवीय क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन। “उद्धार कार्य जारी छ, थप विवरण आउन बाँकी छ,” उनले बताए।

ADVERTISEMENT

पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँ क्षेत्रका सडकहरू साँघुरा, घुमाउरा र जोखिमपूर्ण भएकाले वर्षेनी सवारी दुर्घटनाका घटना दोहोरिँदै आएका छन्। यसले सडक सुरक्षामा थप सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ भने यात्रुहरूको पहिचान तथा अवस्थाबारे थप जानकारी संकलन भइरहेको छ।