काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेस देश परिवर्तनको अभियानमा रहेको बताएका छन्। शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देश बदल्न सबैभन्दा पहिले राजनीतिको शैली, संस्कार र व्यवहार बदल्न आवश्यक रहेको बताएका हुन्।

उनले भने, “हामी देशलाई बदल्न चाहन्छौँ। त्यसकारण सबैभन्दा पहिले राजनीतिलाई बदलौँ। नेपाली कांग्रेस पार्टीले संकल्प गरेको छ– हामी राजनीतिलाई बदल्न चाहन्छौँ। राजनीतिको शैली बदल्न चाहन्छौँ। संस्कारलाई बदल्न चाहन्छौँ।”उनले भने पुरानो पार्टी भन्नुहुन्छ भने नेपाली कांग्रेस सबैभन्दा पुरानो पार्टी हो नयाँ पार्टी भन्नु हुन्छ भने विशेष महाधिवेशन गरेर नयाँ  बनेर आएको पार्टी हो। 

ADVERTISEMENT

चुनावी मैदानमा प्रतिस्पर्धामा रहेका कुनै पनि दललाई दुश्मनको रूपमा लिन नहुने उनको भनाइ थियो। “राजनीतिको यो चुनावको मैदानमा हाम्रो लागि कोही पनि दुश्मन छैनन्,” उनले स्पष्ट पारे।

निर्वाचनपछि सबै दलहरू सत्तापक्ष र प्रतिपक्षका रूपमा रहेर देशको हितमा सहकार्य गर्नुपर्ने भएकाले चुनावका बेला कटुता र दुश्मनी प्रदर्शन गर्नु उपयुक्त नहुने उनले बताए। मुलुकलाई निकास दिने एजेन्डा र नीतिगत बहसलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।

ADVERTISEMENT

“आज हामी जो प्रतिस्पर्धामा छौँ, यी दलहरू भोलि सत्ता र प्रतिपक्षमा सँगसँगै रहेर काम गर्नुछ। त्यसैले दलहरूको मञ्चबाट गाली होइन, प्रेमलाई संप्रेषण गरौँ,” उनले भने, “निर्वाचनको मैदान दुश्मनीको अखडा होइन, व्यक्तित्व र प्रतिस्पर्धाको महायज्ञ हो।”