काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले लुम्बिनी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरूमाझ ‘लिडरसिप फर ट्रास्फर्मेसन इन् लुम्बिनी : अ सेमिनार अन ड्राइभिङ पर्फरमेन्स एण्ड रिजनल एक्शिलेन्स’ कार्यक्रम आयोजना गरेको छ ।

सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको हो ।

सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालू आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा अन्तरक्रिया भएकोे बैंकले जनाएको छ । हालै अन्य प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो, त्यसैको निरन्तरतास्वरूप लुम्बिनी प्रदेशमा यस किसिमको सेमिनार गरिएको हो ।

सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष ०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको जनाएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर उपाधि प्राप्त गर्न सफल बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक सिटिजन्स फोनपे क्रेडिट कार्ड भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

सिटिजन्स बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १९ लाख ३४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।