काठमाडौं । यस वर्षको म्यान सिटिजन एस्पिरिङ म्यानेजर अवार्ड गौरव उप्रेतीले पाएका छन् ।

नेपाल व्यवस्थापन संघ (म्यान) को राष्ट्रिय व्यवस्थापन सम्मेलनमा गत माघ २४ गते पुरस्कार घोषणा गरिएको थियो । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले उप्रेतीलाई अवार्ड वितरण गरेका हुन् ।

पुरस्कारको चयन सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल व्यवस्थापन संघका पदाधिकारीहरुको एक समितिले गरेको हो । अवार्डले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने र यसले भविष्यका म्यानेजमेन्ट पेशेवरहरूलाई प्रोत्साहित गर्ने विश्वास सिटिजन्स बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल व्यवस्थापन संघबीच गत वर्ष एमबिए तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले म्यान सिटिजन एस्पिरिङ म्यानेजर अवार्ड स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । सम्झौताअनुसार प्रत्येक वर्ष पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एमबिएमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ५१ हजार रुपैयाँको पुरस्कार प्रदान गरिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनलले ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १९ लाख ७६ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।