वीरगञ्ज। गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्य गर्न निर्देशन दिएका छन्। आज जिल्ला प्रशासन कार्यालय, पर्सामा आयोजित राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा उनले स्थानीय प्रशासन, भन्सार कार्यालय र तीनवटै सुरक्षा निकायसहित सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।

“राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच आपसी समन्वय गरेर अघि बढ्नका लागि अनुरोध गर्दछु,” उनले भने, “एक निकायले अर्काे निकायलाई दोषारोपण गरेर नभइ समन्वयसहित सहकार्य गर्न जरुरी छ।” गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने अवैध चोरी, तस्करी र अन्य आपराधिक गतिविधि न्यूनीकरणका लागि आवश्यक पहल गर्न पनि अनुरोध गरे।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलनमा उत्साहजनक वृद्धि भएको बताए। “अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहजनक ढङ्गले वृद्धि भएको छ। चालु आवमा पनि लक्ष्यअनुसारको सङ्कलन हुने अपेक्षा छ,” उनले भने।

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुरक्षा निकायले बिलबिजक बिना तस्करी हुने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए। “भारतीय नागरिकले नेपालका कम आय आर्जन भएका नागरिकको नागरिकताको दुरुपयोग गरी विभिन्न ‘फर्म’हरु दर्ता गरी सोहीमार्फत तस्करी गर्ने प्रवृत्ति देखिएको छ,” उनले भने।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लाको शान्ति सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकारवाला निकायसँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।