पोखरा । फिर्के खोलाको खोला घरका संरचना भत्काउन पोखरा महानगरपालिकाले दुई महिनाअघि डोजर चलायो । निकै आक्रामक बनेको महानगरले ती सबै संरचना भत्काएर सकेको छैन ।
५५ वटा संरचना भत्काउन बाँकी रहँदा यो अभियान अहिले सेलाएको छ । २०८० सालको नापजाँच प्रतिवेदनका आधारमा पहिचान गरिएका कुल १ सय ६० अवैध संरचनामध्ये हालसम्म १०५ वटा अस्थायी तथा केही पक्की संरचना भत्काइएको छ । यद्यपि, खोलाको बहाव क्षेत्रभित्रै पर्ने करिब ५५ वटा पक्की र संस्थागत संरचनाहरू अझै भत्काउन बाँकी नै छ । भत्काइएका कतिपय घरमा मानिसले बसोबास छोडेका छैनन् ।
बाँकी रहेका संरचनाहरूमा केही सरकारी कार्यालय, सामुदायिक भवन र ठूला पक्की घरहरू परेकाले नापजाँच र कानुनी प्रक्रिया मिलाउन समय लागेको बताइएको छ । एसियन डेभलपमेन्ट बैंकको सहयोगमा बन्ने भनिएको पर्यटन करिडोरको काम समयमै अघि बढ्न नसक्दा अभियान सुस्ताएको हो ।
अतिक्रमण हटाउने कार्य बीचमै स्थगन भएपछि पोखराका वातावरण क्षेत्रका अभियन्ताले चिन्ता व्यक्त गरेका छन् ।
अभियन्ता रामबहादुर पौडेलले फिर्के संरक्षणका लागि बाँकी संरचना जतिसक्दो छिटो हटाउन माग गरे । उनले बाँकी संरचना तत्काल हटाएर पैदल मार्ग र साइकल लेनसहितको फिर्के करिडोर निर्माण कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
महानगरले गत जेठ १० गतेदेखि खोलाघरमा बनेका संरचना एकसाथ तीन ठाउँबाट डोजर चलाएर हटाउन थालेको थियो । भत्काउनुअघि महानगरले ३५ दिनको समय दिएको थियो ।






