काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवारसँग नेपाल सरकारले सहमति गरेपछि गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र नागरिकको विश्वासप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
सहमतिअनुसार मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने, घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गरिने, पीडित परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने र मृतकहरूको स्मृतिमा स्मृति पार्क निर्माणका लागि आवश्यक समन्वय गरिनेसहितका सहमति गएराति गुरुङकै उपस्थितिमा पीडित परिवारसँग भएको थियो ।
उक्त सहमतिपछि फेसबुकमार्फत गुरुङले सरकारले पीडित परिवारसँग भएको सहमतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक निर्णय र कार्यान्वयन छानबिन समितिको प्रतिवेदनका आधारमा अघि बढाइने बताएका छन्। सहमतिअनुसार मृतकको आजै अन्तिम संस्कार गरिने भएको छ ।





