काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आज (मंसिर १० गते) देखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत बराबर ८ लाख कित्ता शेयर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाका लागि छुट्याएको छ। त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् ९० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ।
स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्ताको सीमा तोकिएको छ।
स्थानीय बासिन्दाले मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा मागअनुसार आवेदन नपरे निष्कासन अवधि पुस १३ गतेसम्म लम्बिनेछ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पर्याप्त आवेदन नपरे मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कान्तिपुर फर्मास्यूटिकल्सलाई केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ।












