काठमाडौं । सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित नयाँ राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यसका लागि उच्चस्तरीय समिति गठन गरेका छन्। मन्त्री श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा ऊर्जा क्षेत्रका संस्थाका प्रतिनिधि तथा विज्ञ सम्मिलित समिति गठन गरेका हुन्।
समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणासहित मस्यौदा तयार गरी पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ।
समितिले मुलुकको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भावी आवश्यकता र उपलब्ध सम्भावनाको अध्ययन गरी आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिगत दिशा तय गर्नेछ।
नयाँ ऊर्जा नीतिमार्फत ऊर्जा उत्पादन, प्रसारण, वितरण, खपत तथा व्यापारलाई एकीकृत दृष्टिकोणबाट अघि बढाउने सरकारको तयारी छ। साथै दीर्घकालीन ऊर्जा विकासका लागि स्पष्ट नीतिगत आधार तयार गर्ने लक्ष्य राखिएको छ।












