राष्ट्र बैंकको उक्त तथ्यांकले औद्योगिक विकासलाई देशव्यापी बनाउने सरकारी नारालाई चुनौती दिँदै बैंक तथा फाइनान्स कम्पनीहरूको अधिकांश औद्योगिक कर्जा बागमती प्रदेशमै थुप्रिएको देखाएको छ। सात प्रदेशमध्ये बागमतीले मात्रै कुल औद्योगिक कर्जाको ७२ दशमलव ३ प्रतिशत हिस्सा ओगट्दा कर्णाली प्रदेशको भागमा जम्मा शून्य दशमलव ३ प्रतिशत मात्रै पर्नुले पनि यस्तो देखिएको हो।
प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तमा ८ दशमलव ६४ प्रतिशतले बढेर १८ खर्ब ४६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। तर, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ११ दशमलव ९५ प्रतिशतले बढेको थियो।
औद्योगिक क्षेत्रमा कर्जा प्रवाहको कुल रकम बढेको देखिए पनि त्यसको लाभ देशका सबै प्रदेशले समान रूपमा पाउन सकेका छैनन्। कुल औद्योगिक कर्जामध्ये ७२ दशमलव ३ प्रतिशत बागमती प्रदेशमा केन्द्रित हुनु र कर्णालीमा शून्य दशमलव ३ प्रतिशत मात्रै पुग्नुले नेपालको औद्योगिक वित्तीय प्रणालीमा रहेको गम्भीर क्षेत्रीय विभेदलाई राष्ट्र बैंकको यो तथ्यांकले थप उजागर गरेको छ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार बागमती प्रदेशमा मात्रै १३ खर्ब ३४ अर्ब ३५ करोड रुपैयाँ औद्योगिक कर्जा लगानीमा रहेको छ। यसको तुलनामा कोशी प्रदेशमा कुल औद्योगिक कर्जाको ९ दशमलव ४ प्रतिशत, मधेसमा ७ प्रतिशत, लुम्बिनीमा ८ प्रतिशत, गण्डकीमा १ दशमलव ५ प्रतिशत, सुदूरपश्चिममा १ दशमलव ५ प्रतिशत र कर्णालीमा जम्मा शून्य दशमलव ३ प्रतिशत हिस्सा रहेको छ।
यो तथ्यांकले औद्योगिक विकासका अवसर, बैंकिङ लगानी र उत्पादनमूलक आर्थिक गतिविधि केही सीमित क्षेत्रमा केन्द्रित रहेको देखाएको छ। विशेषगरी कर्णाली, सुदूरपश्चिम र गण्डकीजस्ता प्रदेशमा औद्योगिक कर्जाको न्यून हिस्साले ती क्षेत्रमा उद्योग स्थापना, विस्तार तथा उत्पादन क्षमता विकासका लागि वित्तीय पहुँच कमजोर रहेको संकेत गर्छ।
प्रतिवेदनअनुसार औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा लगानी भएको छ। त्यस्ता उद्योगले कुल औद्योगिक कर्जाको ३३ दशमलव ३७ प्रतिशत हिस्सा प्राप्त गरेका छन्। त्यस्तै, विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा २७ दशमलव २६ प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २१ दशमलव ६४ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा १३ दशमलव २४ प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्ससम्बन्धी उद्योगमा ३ दशमलव ९१ प्रतिशत र खानीसम्बन्धी उद्योगमा सबैभन्दा कम शून्य दशमलव ५७ प्रतिशत कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ।












