काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। हेरफेरसँगै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम सातौँबाट तेस्रो वरीयतामा उक्लिएकी छन्।
यसअघि मन्त्रिपरिषद्को तेस्रो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा झरेका छन्। सोबिताको वरीयता बढेसँगै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको वरीयता पनि एक–एक स्थान तल सरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट उपसभापतिमा निर्वाचित गौतम पार्टीको वरीयतामा तेस्रो स्थानमा छिन्। तर, यसअघि मन्त्रिपरिषद्मा भने उनी सातौँ स्थानमा थिइन्।
पार्टीको वरीयताअनुसार मन्त्रिपरिषद्को मर्यादाक्रमसमेत मिलाइएको बताइएको छ।












