नयाँ दिल्ली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्। उनले बालेनमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा लैजाने स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता देखेको बताएका हुन्।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले प्रधानमन्त्रीका रूपमा बालेनको पहिलो द्विपक्षीय भारत भ्रमणमा स्वागत गर्न पाउँदा आफू खुसी भएको बताए।
मोदीले संयुक्त राष्ट्रसंघको महासभामा विश्वकै कान्छा प्रधानमन्त्रीका रूपमा सम्बोधन गर्दादेखि नै बालेनको दूरदर्शिता देखिएको उल्लेख गरे।‘आज केही घण्टाको कुराकानीमै मैले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धबारे उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेँ,’ मोदीले भने।
उनले नेपाली जनताले बालेन नेतृत्वलाई दिएको ऐतिहासिक जनादेशले नयाँ पुस्ताको आशा र भरोसा प्रतिबिम्बित गरेको पनि बताए।
‘भारत सशक्त र समृद्ध नेपालको विकास यात्रामा सधैँ सहभागी हुँदै आएको छ। यही भावनाका साथ हामीले हाम्रो सम्बन्धलाई नयाँ उचाइमा लैजान महत्त्वपूर्ण कदम चालेका छौँ,’ मोदीले भने।
प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा, व्यापार, पूर्वाधार, यातायात, शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
यसैक्रममा भारतले बाढीपछिको पुनर्निर्माणका लागि नेपाललाई २४० अर्ब रुपैयाँ अर्थात् करिब १.६२ अर्ब अमेरिकी डलर बराबरको आर्थिक प्याकेज उपलब्ध गराउने घोषणा गरेको छ।
त्यस्तै, अयोध्या र जनकपुरलाई जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवा सञ्चालन तथा अन्य विकास परियोजनासम्बन्धी सहकार्य पनि भ्रमणका महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेका छन्।












