काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र शाहबीच भएको भेटवार्तापछि विभिन्न आठ क्षेत्रमा सहकार्यका लागि समझदारी भएको हो ।

ADVERTISEMENT

दुई देशबीच शैक्षिक तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालन विकासका विषयमा समझदारी भएको छ ।

ADVERTISEMENT

समझदारी भएका आठ विषय:

1. शैक्षिक तथा अनुसन्धान सहकार्य : भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

2. सुरक्षा तथा प्रहरी प्रतिष्ठानबीच सहकार्य : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच सहकार्यसम्बन्धी समझदारी भएको छ ।

3. निजामती कर्मचारीको क्षमता अभिवृद्धि : भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच निजामती कर्मचारीको क्षमता अभिवृद्धि तालिम कार्यक्रम सञ्चालन गर्ने विषयमा समझदारी भएको छ ।

4. आयुर्वेद तथा परम्परागत चिकित्सा : आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीका क्षेत्रमा सहकार्य गर्न नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

5. स्याटेलाइट सञ्चार नेटवर्क स्थापना : दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क स्थापना गर्ने विषयमा भारतको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारी भएको छ ।

6. दिगो सहरी विकास : दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्ने विषयमा दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

7. स्वास्थ्य तथा चिकित्सा : भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।

8. पशुपालन तथा मत्स्यपालन विकास : पशुपालन र मत्स्यपालन विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यी समझदारीले नेपाल र भारतबीच विभिन्न क्षेत्रको संस्थागत सहकार्य, प्राविधिक आदानप्रदान तथा क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।