नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँ दिल्ली आइपुगेका छन्।

भारत भ्रमणका क्रममा उनले परम्परागत औपचारिकता केही परिवर्तन गर्दै विमानस्थलमा गार्ड अफ अनर र सलामी लिएनन्। यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाँदासमेत उनले यस्तो सम्मान ग्रहण गरेका थिएनन्।

ADVERTISEMENT

प्रधानमन्त्री शाह आइतबार दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका थिए। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए।

ADVERTISEMENT

३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत पुगेका प्रधानमन्त्री शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायतले स्वागत गरेका थिए।

प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङलगायत छन्।

प्रधानमन्त्री शाह नयाँ दिल्ली पुगेपछि भारतीय विदेश मन्त्रालयले भ्रमणलाई दुई देशबीचको साझेदारी सुदृढ गर्ने अवसरका रूपमा व्याख्या गरेको थियो। मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको थियो, ‘यो भ्रमणले भारत र नेपालबीचको चिरस्थायी तथा बहुआयामिक साझेदारीलाई सुदृढ पार्ने अवसर प्रदान गर्दछ।’

जयशंकरसँग २५ मिनेट भेटवार्ता

नयाँ दिल्ली पुगेपछि प्रधानमन्त्री शाह विमानस्थलबाट सिधै आफू बस्ने होटल ताज महल पुगेका थिए। आइतबार साँझ भारतीय विदेशमन्त्री डा. एस जयशंकरले त्यही होटलमा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

करिब २५ मिनेट भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायत क्षेत्रमा सहकार्यका विषयमा कुराकानी भएको थियो।

दुवै पक्षले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल गरेका थिए।

सोमबार मोदीसँग भेट, आधा दर्जनभन्दा बढी सम्झौता

प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। बिहान ११:१५ बजे हैदरावाद हाउसमा दुवै प्रधानमन्त्रीबीच एक्लाएक्लै अर्थात् ‘वन अन वन’ वार्ता हुनेछ।

त्यसपछि दुवै देशका प्रधानमन्त्री प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन्। बैठकपछि नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी समझदारीपत्र (एमओयू) तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।

शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार तथा विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनालगायत क्षेत्रमा समझदारी तथा सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ।

सम्झौतापछि दुवै देशका प्रधानमन्त्री संयुक्त प्रेस ब्रिफिङमा सहभागी हुनेछन्। त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा आयोजना गर्ने दिवाभोजमा उनी सहभागी हुनेछन्।

राष्ट्रपतिसँग भेटेर स्वदेश फर्किने

प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३:३० बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

राष्ट्रपतिसँगको भेटपछि उनी दिउँसो ४:५० बजे नयाँ दिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। प्रधानमन्त्री शाह सोमबार साँझ करिब ६:४५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ।