काठमाडौं । नेपाल–भारत सम्बन्धका बदलिँदा आयाम, क्षेत्रीय तथा रणनीतिक परिदृश्य र दुई देशबीचको सहकार्यका सम्भावनाबारे विज्ञ तथा सरोकारवालाबीच छलफल भएको छ ।

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (NIICE) र सेन्टर फर पोलिसी स्टडिज (CPS) को संयुक्त आयोजनामा नोभेम्बर १६ मा ललितपुरको हात्तीवनस्थित NIICE नेपालको सेमिनार हलमा कार्यक्रम सम्पन्न भएको हो ।

ADVERTISEMENT

कार्यक्रममा CPS का अध्यक्ष डा. अशोक के. बेहुरिया, आजीवन सदस्य तथा दिल्ली विश्वविद्यालयका डा. निहार नायक, प्रविधि उद्यमी सृष्टिकेत भट्ट र NIICE नेपालका कार्यक्रम संयोजक तथा अनुसन्धान सहायक विवेक ध्वज थापा वक्ताका रूपमा सहभागी थिए ।

ADVERTISEMENT

CPS का अध्यक्ष डा. बेहुरियाले नेपाल–भारत सम्बन्धलाई राज्यकेन्द्रित तथा सुरक्षामुखी दृष्टिकोणबाट मात्र हेर्ने परम्पराभन्दा माथि उठेर जनतालाई द्विपक्षीय सम्बन्धका प्रमुख सरोकारवालाका रूपमा स्वीकार गर्नुपर्ने बताए । उनले भारतको विदेश नीतिको ऐतिहासिक विकासक्रम, गुज्राल सिद्धान्त र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको बदलिँदो क्षेत्रीय दृष्टिकोणबारे चर्चा गरे ।

त्यस्तै, डा. निहार नायकले नेपालको प्रधानमन्त्रीको अपेक्षित भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले विकास, पूर्वाधार, डिजिटल कनेक्टिभिटी र विपद् व्यवस्थापनमा सहकार्यका सम्भावना औँल्याए । सीमा विवाद, गोर्खा भर्ती, पञ्चेश्वर परियोजना, हवाई सम्पर्क तथा गैरभन्सार अवरोधजस्ता लामो समयदेखि कायम चुनौतीबारे पनि छलफल गरे ।

प्रविधि उद्यमी सृष्टिकेत भट्टले अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वभौमिकता र सुरक्षामा प्रविधिको महत्त्व बढ्दै गएको बताए । सेमिकन्डक्टर आपूर्ति शृङ्खला र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता प्रविधिमा सीमित मुलुकको नियन्त्रणले नेपाल र भारत दुवैलाई जोखिममा पार्न सक्ने उनको भनाइ थियो ।

उनले विशेषगरी कृत्रिम बौद्धिकता, साइबर सुरक्षा र डिजिटल पूर्वाधारका क्षेत्रमा नेपाल–भारतबीच सहकार्य बढाउनुपर्नेमा जोड दिए । प्रविधिको प्रयोगमा मात्र सीमित नभई संयुक्त रूपमा प्रविधि विकास गर्ने दिशामा सहकार्य अघि बढाउनुपर्ने उनले बताए ।

NIICE नेपालका कार्यक्रम संयोजक विवेक ध्वज थापाले नेपाल र भारत दुवै देशको कुल जनसंख्याको करिब ५० देखि ६० प्रतिशत हिस्सा युवाले ओगटेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धको भविष्य निर्माणमा युवाको सहभागिता आवश्यक रहेको बताए ।

उनले नयाँ पुस्ताले विगतका पुस्ताले अनुभव गरेको शीतयुद्धकालीन मनोवैज्ञानिक त्रास र दृष्टिकोण बोकेर नहिँडेको उल्लेख गर्दै युवाहरू भू–राजनीतिक प्रतिस्पर्धा तथा शक्ति संघर्षभन्दा आफ्नै देशको विकासमा केन्द्रित हुन चाहेको बताए ।

कार्यक्रमको अन्त्यमा NIICE नेपाल र CPS बीच आपसी आदानप्रदान तथा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।