काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विगतका विवाद र शंकाभन्दा माथि उठाएर नयाँ दृष्टिकोणबाट अघि बढाउनुपर्ने बताएका छन्। पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले भारतीय सञ्चारमाध्यम ‘हिन्दुस्तान टाइम्स’मा प्रकाशित आफ्नो लेखमार्फत नेपाल र भारत केवल दुई छिमेकी राष्ट्र मात्र नभई साझा सभ्यता, संस्कृति र आस्थाले जोडिएका मुलुक भएको धारणा व्यक्त गरेका हुन्।
लामिछानेले लेखमा नेपाल–भारत सम्बन्धको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक आयामलाई उल्लेख गर्दै जनकपुर र अयोध्याको सम्बन्धलाई दुई देशबीचको आत्मीयताको प्रतीकका रूपमा प्रस्तुत गरेका छन्।
“नेपाल र भारत केवल दुई देश होइनन्, हामी प्राचीन सभ्यताका सरोकारवाला हौँ। जनकपुर र अयोध्या जोडिएपछि मात्र रामको गाथा पूरा हुन्छ। पशुपतिनाथ र केदारनाथलाई एकसाथ ल्याएपछि मात्र आस्था पूरा हुन्छ,” उनले लेखेका छन्।
उनले नेपाल र भारतबीचको सम्बन्धलाई केवल राजनीतिक वा कूटनीतिक चश्माबाट मात्र नहेर्न आग्रह गर्दै जनस्तरमा रहेको सांस्कृतिक र भावनात्मक सम्बन्ध नै सबैभन्दा बलियो आधार भएको बताएका छन्।
लामिछानेले विगतका नेतृत्वका निर्णय, असमझदारी वा पुराना विवादमा अल्झिएर भविष्य निर्माण गर्न नसकिने उल्लेख गर्दै आफ्नो पार्टी र नयाँ पुस्ताको राजनीतिक सोच फरक रहेको सन्देश दिएका छन्।
“हामीसँग अब हाम्रो विदेश नीतिलाई रूपान्तरण गर्न आवश्यक पर्ने सबैभन्दा ठूलो सम्पत्ति छ। हामी विगतको कुनै झोला बोक्दैनौँ। हामी पुरानो शत्रुताद्वारा बन्धित छैनौँ,” उनले लेखेका छन्।
उनले थप लेखेका छन्, “हामी जनताको स्तरमा सार्वभौम सन्धिहरू र अनौपचारिक बन्धनहरूले बाँधिएका छौँ। तर विगतका नेताहरूका सानातिना सम्झौता र मौन समझदारीमा अल्झिएका छैनौँ। हामी भारत र संसारलाई खुला हृदय, स्पष्ट आँखा र पारदर्शी एजेन्डाले हेर्छौं। नेपालको आर्थिक रूपान्तरणका लागि काम गर्छौं।”
रास्वपा सभापतिले आफ्नो लेखमार्फत नेपालले आत्मसन्तुष्टि वा भावनात्मक राष्ट्रवादमा सीमित भएर बस्न नहुने पनि बताएका छन्। उनले देशका कमजोरीहरू स्वीकार गर्दै विकास, समृद्धि र क्षेत्रीय सहकार्यमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन्।
“हामीसँग न त आत्मभोगको विलासिता छ, न त हामी हाम्रा कमजोरीहरू जीर्ण वाक्यांशहरू पछाडि लुकाउन चाहन्छौँ,” उनले लेखेका छन्।
उनका अनुसार नेपाल–भारत सम्बन्धलाई अब ‘के भयो’ भन्ने बहसभन्दा ‘के हुन सक्छ’ भन्ने सम्भावनाको दृष्टिले हेर्नुपर्ने समय आएको छ। “हाम्रो सम्बन्धले के हासिल गरेको छ भनेर मात्र हेर्नुको सट्टा, हामी यसले के हासिल गर्न सक्थ्यो र यो के बन्न सक्छ भन्ने कुरामा ध्यान केन्द्रित गरेर नयाँ सुरुआत गर्न चाहन्छौँ,” उनले उल्लेख गरेका छन्।
लामिछाने हाल भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको निमन्त्रणामा भारत भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक नेतृत्व, कूटनीतिक अधिकारी तथा भारतस्थित नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
रवि लामिछाने ५ दिनको लागि भारत भ्रमणमा छन्।





