काठमाडौं । हिमताल विस्फोटबाट आएको बाढी (GLOF) बाट प्रभावित नुवाकोटका परिवारलाई टाटा समूह र सिप्रदियन सहायता संस्थाले २ हजार थान स्टिल अल्मिरा (दराज) हस्तान्तरण गरेका छन् ।

‘एक टाटा नेपाल GLOF विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत घर तथा घरभित्रका सम्पूर्ण सामग्री गुमाएका परिवारलाई लक्षित गरी उक्त सहयोग उपलब्ध गराइएको हो । तत्कालीन राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

ADVERTISEMENT

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती तथा नेपाल सरकारको मार्गदर्शनमा अघि बढाइएको यस पहलले प्रभावित परिवारलाई दैनिक जीवनमा आवश्यक घरायसी सामग्री सुरक्षित राख्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

ADVERTISEMENT

घर तथा घरभित्रका सामान गुमाएका परिवारका लागि स्टिल दराज हस्तान्तरणले पुनर्स्थापनाको क्रममा आवश्यक घरेलु सामग्री व्यवस्थापनमा सहयोग पुग्ने आयोजकको विश्वास छ । यो कार्यक्रम विपद्बाट प्रभावित समुदायलाई सामान्य जीवनमा फर्काउन र दीर्घकालीन पुनर्स्थापनालाई सघाउने बृहत् प्रयासको हिस्सा हो ।

दराज हस्तान्तरण कार्यक्रममा टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमस, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहाल, टाटा सस्टेनेबिलिटी ग्रुपका एभीपी–एसएस श्रीरंग धवले सहभागी थिए ।

त्यसैगरी सिप्रदीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत तथा निर्देशक राजेश प्रसाद गिरी, वरिष्ठ उपाध्यक्ष सौरभ राज थापालिया, विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटीसहित विभिन्न प्रतिनिधि तथा स्थानीय सरोकारवालाको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमसले विपद् प्रतिकार्य तत्काल राहतमा मात्र सीमित हुन नहुने बताए । प्रभावित परिवारको आत्मसम्मान पुनःस्थापना, जीवनलाई सामान्य अवस्थामा फर्काउने वातावरण निर्माण र सुरक्षित भविष्यतर्फ अघि बढ्न सहयोग गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

उनले ‘एक टाटा नेपाल GLOF विपद् प्रतिकार्य कार्यक्रम’ मार्फत टाटा समूह, यसका कर्मचारी तथा सिप्रदी समूह नुवाकोटका प्रभावित नागरिकको पुनर्स्थापनामा निरन्तर साथ दिन प्रतिबद्ध रहेको बताए ।

त्यस्तै, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालले समाजप्रतिको जिम्मेवारी व्यवसायमा मात्र सीमित नहुने बताए । वास्तविक आवश्यकता भएका व्यक्तिसम्म अर्थपूर्ण सहयोग पुर्‍याउनु संस्थाको उद्देश्य रहेको उल्लेख गर्दै उनले कठिन परिस्थितिमा रहेका समुदायसँग उभिने प्रतिबद्धता व्यक्त गरे ।

उनले विपद् सामना गर्न सक्षम र समावेशी समाज निर्माणमा योगदान पुर्‍याउन संस्था निरन्तर सक्रिय रहने पनि बताए ।