काठमाडौं । मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिण र पश्चिमी भूभागतर्फ सरदरकै आसपास रहेको छ। यसकै प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको हो।
मौसमविद् रोजन लामिछानेले काठमाडौं उपत्यकामा केही समयसम्म वर्षा जारी रहने सम्भावना रहेको बताउँदै सडक जलमग्न हुने तथा केही स्थानमा डुबान हुन सक्ने चेतावनी दिएका छन्।
उनले सवारी चालक तथा पैदलयात्रीलाई यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। यस्तै, विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुनी वायुको प्रभाव देशभर रहे पनि प्रणाली अत्यधिक शक्तिशाली नभएकाले व्यापक रूपमा भारी वर्षा हुने सम्भावना भने कम छ।
उनका अनुसार आगामी तीन दिन पहाडी भूभागका केही स्थानमा मात्रै भारी वर्षा हुन सक्ने भएकाले अनावश्यक त्रास मान्नुपर्ने अवस्था नभए पनि सतर्कता भने आवश्यक छ।
हाल बागमती प्रदेशका चितवन र दोलखा, कोशी प्रदेशका सोलुखुम्बू र मोरङ, लुम्बिनी प्रदेशका रोल्पा, अर्घाखाँची र पाल्पा, कर्णाली प्रदेशको मुगु तथा सुदूरपश्चिम प्रदेशको कैलाली आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
मौसमविद्ले विशेषगरी नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पालना गर्न, आवश्यक सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेका छन्।






