काठमाडौं । अमेरिका र इरानबीच हुने भनिएको दोहा वार्ता अनिश्चित भएको छ । अमेरिकाको दाबीलाई इरानले अस्वीकार गरेपछि वार्ता हुने नहुने निश्चित छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कतारको दोहामा आगामी मंगलवार भेटवार्ताका लागि प्रस्ताव गरेको दाबी गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत यो जानकारी दिँदै ट्रम्पले उक्त प्रस्तावको थप विस्तृत विवरण भने खुलाएका छैनन् । यद्यपि इरानले भने ट्रम्पको यस दाबीलाई तत्कालै अस्वीकार गरेको छ ।
इरानी विदेश मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै आगामी दिनमा इरानी र अमेरिकी प्राविधिक टोलीहरूबीच भेटघाट हुने भनी आएका रिपोर्टहरूको खण्डन गरेको हो । मन्त्रालयले निकट भविष्यमा यस्तो कुनै पनि वार्ताको सम्भावना नरहेको स्पष्ट पारेको छ ।
स्ट्रेट अफ होर्मुजमा इरानले आफ्नो दाबी नछाडेपछि अमेरिकाले इरानका विभिन्न स्थानमा आक्रमण गरेपछि पश्चिम एसियामा द्वन्द्व बढेको हो ।






