काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयकमा आमालाई ६ महिना र बुबालाई ४२ दिन प्रसूति बिदा दिने प्रस्ताव गरिएको छ।
कानुनमन्त्री सोविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भएको जानकारी दिएकी हुन्।उनका अनुसार विधेयक अब मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा लैजाने तयारी सरकारको छ।
मन्त्री गौतमले व्यस्त जीवनशैली र कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेको उल्लेख गर्दै नवजात शिशु र परिवारलाई पर्याप्त समय दिन अभिभावकलाई सहयोग गर्ने नीति आवश्यक रहेको बताएकी छन्।
उनले बच्चा जन्माउने प्रक्रिया आमासँग प्राकृतिक रूपमा जोडिए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको उल्लेख गरेकी छन्।





