काठमाडौं । पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वनेतृ सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन् ।

ADVERTISEMENT

उनले फेसबुकमा लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्दछु। आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’

ADVERTISEMENT

श्रेष्ठ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद निर्वाचित भएकी थिइन् । उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।

रास्वपामा रहँदा पार्टीको उपसभापति तहको नेतृत्वमा रहेकी श्रेष्ठले २०८२ भदौमा पार्टी परित्याग गरेकी थिइन् । पार्टी छाडेपछि उनले पहिलोपटक स्थानीय निर्वाचनमार्फत काठमाडौं महानगरको नेतृत्वमा पुग्ने आफ्नो राजनीतिक आकांक्षा सार्वजनिक गरेकी हुन् ।