काठमाडौँ । काठमाडौ महानगरपालिकाले अतिक्रमणमा परेको दुई सय आठ रोपनीभन्दा बढी सार्वजनिक जग्गा फिर्ता ल्याएको छ ।

महानगरका मेयर बालेन्द्र शाहले हिजो सामाजिक सञ्जालमार्फत अतिक्रमणमा परेका २३ अर्ब रुपैयाँ बराबरको दुई सय रोपनीभन्दा धेरै सार्वजनिक जग्गा फिर्ता लिएको जानकारी दिए ।

ADVERTISEMENT

आफू नेतृत्वमा आएसँगै महानगरले झन्डै दुई खर्ब मूल्यबराबरको एक हजार आठ सय ५९ रोपनी १४ आना अतिक्रमित जग्गा फिर्ता ल्याउने लक्ष्यका साथ काम गरिरहेको मेयर शाहको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनःप्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको छ । त्यही नीतिअनुसार सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान नै सञ्चालन गरिहेको मेयर शाहले बताए ।

महानगरले फिर्ता गरिएका जग्गालाई पुनः कब्जामा नपरोस् भन्ने उद्देश्यले खुला पार्क, खेलकुद मैदान, स्केटबोर्ड पार्क, सत्तल, हरित क्षेत्र र सार्वजनिक उपयोगका स्थलका रूपमा विकास गर्ने कार्य तीव्रगतिमा अघि बढाइरहेको छ ।

ADVERTISEMENT

सार्वजनिक जग्गाको संरक्षण कार्यलाई थप प्रथामिकताका साथ अघि बढाउन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदनलाई नीतिगत आधार मानी मिचिएका एक हजार आठ सय ५९ रोपनी १४ आना जग्गा पुनः सार्वजनिक उपयोगमा ल्याउने लक्ष्यसहित कार्यान्वयन समिति गठन गरिएको र समितिले आजदेखि काम शुरु गर्ने महानगरले जनाएको छ ।