काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आज (बुधबार) देखि काठमाडौंमा सुरु हुँदैछ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुने भेलाको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनसहित सम्बोधन गर्ने कार्यक्रम छ।

भेलामा सहभागी हुन देशका विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधि काठमाडौं आइपुगेका छन्। राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिने र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई केन्द्रमा राखेर भेला आयोजना गरिएको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

ADVERTISEMENT

भेलामा पार्टीको संगठनात्मक अवस्था, केन्द्रीय कमिटीका निर्णय कार्यान्वयन र आगामी कार्ययोजनाबारे छलफल हुनेछ। मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले भेलाका एजेन्डा अनुमोदन गरिसकेको छ।

ADVERTISEMENT

भट्टका अनुसार गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्ने तथा पार्टीले गर्नुपर्ने १५ वटा कामबारे भेलामा छलफल गरिनेछ।

भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन्।

भेलालाई अध्यक्ष ओलीसँगै वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।