काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत विभिन्न उच्चस्तरीय कार्यक्रममा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् । तुर्किएमा आयोजित सम्मेलनका करिब एक दर्जन कार्यक्रममा सहभागी भएर उनी आज नेपाल फर्किएका हुन् ।
अर्थमन्त्री वाग्लेले ४४ अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए । त्यस्तै, सात वर्षअघि स्थापना भएको ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई १०५औँ सदस्यका रूपमा सहभागी गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ सम्बन्धी नीतिगत अवधारणा छलफलका लागि प्रस्तुत गरेका थिए ।
विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान सञ्चालन गर्दै आएकी बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्ली र जी–२० समूहको अध्यक्षता गर्न लागेका बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डसँग विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको जनाइएको छ ।
कोप–३१ मा नेपालले उठाएका जलवायु वित्तसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले अर्थमन्त्री वाग्लेले पाँच प्रभावशाली जलवायु दूतसँग पनि छलफल गरेका थिए । बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र संयुक्त राष्ट्रसंघका महासचिवका दूत सेल्विन हार्टसँग उनले भेटवार्ता गरेका हुन् ।
त्यसक्रममा हरित जलवायु कोषको उच्च नेतृत्वसँग नेपालको आगामी जलवायु कार्यक्रमबारे छलफल भएको थियो । जेनेभास्थित विश्व मौसम विज्ञान संगठनको जलवायु मापन कोषसम्बन्धी कार्यक्रममा पनि अर्थमन्त्रीले विशेष सम्बोधन गरेका थिए ।
जलवायु तथा अर्थशास्त्रका क्षेत्रमा ख्यातिप्राप्त प्राध्यापक योहान रक्स्त्रम र निकोलस स्टर्नसँग पनि अर्थमन्त्री वाग्लेले भेटघाट गरेका थिए । यसैगरी, उनले न्युयोर्क टाइम्सलाई अन्तर्वार्ता दिएका थिए ।
सन् २०२६ का लागि टाइम पत्रिकाले छनोट गरेका जलवायु क्षेत्रका विश्वका १०० प्रभावशाली व्यक्तित्वको सम्मानमा आयोजित कार्यक्रममा पनि उनी सहभागी भएका थिए ।












