काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपालका पाँच जना सांसद टर्की जाने भएका छन् ।
संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीसहित पाँच सांसद सम्मेलनमा सहभागी हुन लागेका हुन् ।
टर्कीको अन्ताल्यामा कात्तिक २३ गतेदेखि सुरु भएको सम्मेलन मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन, जलवायु वित्त, हानि तथा क्षति र स्वच्छ ऊर्जा संक्रमणलगायतका विश्वव्यापी मुद्दामा छलफल भइरहेको छ ।
सम्मेलनमा नेपालले हिमाल तथा हिमनदीको संरक्षण, जलवायु न्याय, अनुदानमा आधारित जलवायु वित्त र जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ ।
सभापति चौधरीले सम्मेलनका क्रममा जलवायु परिवर्तनका चुनौती, संसदीय सहकार्य, क्षेत्रीय साझेदारी र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई प्रभावकारी नीतिगत कार्यान्वयनमा रूपान्तरण गर्ने विषयमा सहभागिता जनाउनेछन् ।
सभामुखस्तरीय निर्णयअनुसार सम्मेलनमा सहभागी हुने सांसदमा चौधरीसहित आशिष गजुरेल, राम लामा, अर्जुनकुमार कार्की र कमल सुवेदी रहेका छन् ।
सभापति चौधरीका अनुसार संघीय संसद् सचिवालयलाई आर्थिक भार नपर्ने गरी उनी टर्की जान लागेका हुन् ।












