अन्ताल्या । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी, विश्वसनीय र समुदायकेन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् ।
टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा आयोजित ‘अर्ली वार्निङ्स फर अल : डेलिभरिङ अन आवर प्रमिस टु प्रोटेक्ट एभ्रिवन’ विषयक उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले हिमाली समुदायका लागि पूर्वसूचना प्रणाली जीवन र जोखिमबीचको महत्त्वपूर्ण सुरक्षा कवच भएको बताए ।
नेपालमा हालै भएका जलवायुजन्य विपद्को अनुभव सुनाउँदै मन्त्री खनालले विपद् सुरु भएको प्रारम्भिक चरणमा पूर्वसूचना प्रणालीमार्फत लाखौँ एसएमएस पठाइएको र तल्लो तटीय क्षेत्रका समुदायले स्थानीयस्तरमा जारी चेतावनीसमेत प्राप्त गरेको बताए । तर, यति हुँदा पनि क्षति रोक्न पर्याप्त नभएको उनको भनाइ थियो ।
जटिल भौगोलिक बनावट भएका हिमाली क्षेत्रमा उच्च उचाइका मौसम तथा जलवायु अवलोकन प्रणालीमा रहेका रिक्तता पूरा गर्नुपर्ने आवश्यकता उनले औँल्याए । यसका लागि वास्तविक समयको तथ्याङ्क सङ्कलन तथा प्रसारण गर्ने प्रविधि, भूउपग्रहमा आधारित प्रणाली र क्रायोस्फियरको अनुगमन विस्तार गर्नुपर्ने उनले बताए ।
पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन जोखिममा रहेका समुदायसम्म समयमै सूचना पुर्याउनुपर्नेमा जोड दिँदै उनले स्थानीय भाषा र सहज माध्यमबाट चेतावनी सम्प्रेषण गर्नुपर्ने बताए । सम्भावित विपद्अघि नै आवश्यक तयारी र प्रतिकार्यका काम अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
त्यसैगरी, नेपालको ‘सगरमाथादेखि समुद्रसम्म’ अवधारणाको मर्मअनुसार सीमापार तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउनुपर्ने उनले बताए ।
सबै समुदायको सुरक्षा सुनिश्चित गर्न पूर्वानुमानयोग्य, सहज पहुँचयोग्य तथा अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन पनि मन्त्री खनालले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद्का श्रृङ्खलाबद्ध प्रभाव सामना गर्न विश्वव्यापी ऐक्यबद्धता, सहकार्य र सामूहिक प्रयास विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।












