काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार स्वदेश फर्किएका छन् ।

टर्कीको अन्ताल्यामा जारी सम्मेलनमा सहभागी हुन गत साता त्यसतर्फ प्रस्थान गरेका मन्त्री खनालले आफ्नो सहभागिता पूरा गरी नेपाल फर्किएका हुन् ।

ADVERTISEMENT

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले हिमाल तथा जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य, जलवायु न्याय र हिमाली पारिस्थितिक प्रणालीको संरक्षणका विषयलाई प्राथमिकताका साथ उठाएको थियो ।

ADVERTISEMENT

यस्तै, जलवायु अनुकूलन, हानि–नोक्सानीका लागि वित्तीय सहयोग र बहुप्रकोपीय पूर्वसूचना प्रणाली सुदृढीकरणको विषयमा पनि नेपालको धारणा राखिएको थियो ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले सम्मेलनका उच्चस्तरीय बैठकहरूमा नेपालसहित पर्वतीय मुलुकका एजेन्डालाई कोप प्रक्रियामा स्थापित गराउन सक्रिय पहल गरेको बताए ।

‘नेपालका तर्फबाट पर्वतीय मुलुकका मुद्दाहरू स्थापित गराउन विभिन्न तहमा छलफल भएको छ, यस वर्षको सम्मेलनले कुनै न कुनै रूपमा हाम्रा एजेन्डालाई सम्बोधन गर्नेमा हामी पूर्ण आशावादी छौँ,’ उनले भने ।

सम्मेलनका क्रममा मन्त्री खनालले ‘पर्वत तथा जलवायु परिवर्तन’ सम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गर्नुपर्ने माग गरेका थिए । विश्वव्यापी अनुकूलन लक्ष्य र नयाँ सामूहिक परिमाणात्मक जलवायु वित्त लक्ष्यमा पर्वतीय क्षेत्रका विशिष्ट सूचक समावेश गर्नुपर्ने धारणा पनि उनले राखेका थिए ।

यसै क्रममा नेपालले भुटान, किर्गिस्तान तथा अन्तर्राष्ट्रिय साझेदार संस्था इसिमोड (आईसीआईएमओडी) र जोइ इन्भाइरोमेन्ट नेटवर्कसँगको सहकार्यमा पर्वतीय उत्थानशीलताका लागि अनुकूलन वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रम आयोजना गरेको थियो ।

कोप–३१ अन्तर्गतका बाँकी बैठक तथा वार्तामा भने कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।