काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामकारबाहीलाई हिन्दी जासुसी फिल्मसँग तुलना गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको कार्यशैलीमा अनिश्चितता र अन्योल देखिएको टिप्पणी गरे। हिन्दी जासुसी फिल्ममा वास्तविकतामा नहुने घटनासमेत देखाइने प्रसङ्ग उल्लेख गर्दै उनले सरकारका कामकारबाही पनि त्यस्तै भएको बताए।
‘सरकारका कामकारबाही हेर्दा हिन्दी जासुसी फिल्म हेर्दा देख्नुभएको होला, हुँदै नहुने कामहरू भएको देखाउँछ नि त्यस्तै छ सरकारको कामकारबाही,’ उनले भने।
उनले पत्रकार, कर्मचारी र राजनीतिक नेताहरूमाथि कुनै पनि बेला के हुने हो भन्ने निश्चित अवस्था नरहेको टिप्पणी गरे। ‘कतिबेला कुन पत्रकार समाइने हो, कुनमाथि हमला हुने हो, कुन नोकरशाही कर्मचारीतन्त्रमाथि के हुने हो, नेतामाथि के हुने हो, कता के हुने हो भन्ने कुराको टुंगो केही पनि छैन,’ उनले भने।
कार्यक्रममा प्रचण्डले पुराना राजनीतिक दल र तिनका नेतृत्वमाथि वर्तमान सत्ता पक्ष तथा नयाँ पुस्ताबाट हुने गरेको नकारात्मक टिप्पणीप्रति पनि असन्तुष्टि जनाए।
उनले गणतन्त्र स्थापना, पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा योगदान गरेका पुराना दलका नेताहरूलाई समेत बदमास र अपराधीका रूपमा चित्रण गर्न खोजिएको भन्दै आपत्ति जनाए।
‘गणतन्त्र ल्याउने, पूर्वाधार बनाउने, ऊर्जा क्षेत्रमा क्रान्ति ल्याउनेहरूले केही पनि गरेनन्, यी बदमास हुन्, अपराधी मात्रै हुन् भन्न खोजिन्छ,’ उनले भने।










