काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार बसेको नेकपाको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशनको कार्यतालिका पारित गरेको हो।

नेता प्रकाश ज्वालाले महाधिवेशनसम्बन्धी कार्यतालिका बैठकले पारित गरेको जानकारी दिए। उनका अनुसार वडा, पालिका, जिल्ला र प्रदेश हुँदै राष्ट्रिय महाधिवेशनसम्मको तयारी अघि बढाइनेछ।

ADVERTISEMENT

बैठकले जनवर्गीय संगठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र संघीय, प्रदेश, पालिका र वडास्तरका संगठनहरूको समायोजन सम्पन्न गर्ने कार्यसूची तय गरेको छ। साथै, आगामी कात्तिक १५ भित्र सबै प्रदेशका अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरिएको छ।

ज्वालाले पार्टी महाधिवेशनको कार्यतालिका स्वीकृत भएसँगै मंगलबारदेखि नै आवश्यक तयारी अघि बढ्ने बताए। उनका अनुसार कार्यतालिका अनुसार निर्धारित समयमै सबै संरचनागत काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

ADVERTISEMENT

बैठकमा प्रदेश इन्चार्ज, संयोजक, सहसंयोजक तथा केही विभागीय प्रमुख र उपप्रमुखका विषयमा प्रस्ताव आएको भए पनि त्यसबारे अन्तिम निर्णय भने हुन बाँकी रहेको जनाइएको छ।

त्यस्तै, नेकपाले संविधान संशोधन मस्यौदा कार्यदल गठन गरेको छ। कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरीरामबहादुर चौधरी रहेका छन्।

यसैगरी, बैठकले आगामी असार र साउन महिनामा श्रम शिविर सञ्चालन गर्ने निर्णय गरेको छ। साथै, सदस्यता नवीकरण र विस्तारलाई पनि तीव्रता दिने निर्णय गरिएको नेता ज्वालाले जानकारी दिए।