काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापालाई कसैले पक्राउ गर्न नसक्ने दाबी गरेका छन्।
शुक्रबार नेकपाको केन्द्रीय अनुगमन तथा मूल्यांकन विभागको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले थापाबारे आफ्नो धारणा राखेका हुन्।
सरकारले कांग्रेस सभापति थापालाई पक्राउ गर्न लागेको चर्चा भइरहेको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘जहाँसम्म गगनजीको कुरा गर्नुभयो, गगनजी पक्रन कसैले सक्दैन।’
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य–मान्यताभन्दा बाहिर जान खोजेको आरोप पनि प्रचण्डले लगाएका छन्।
‘सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्यमान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ,’ उनले भने, ‘यो निकै चिन्ताको विषय छ, देशका लागि र जनताका लागि पनि।’
यसैबीच, प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट दानबहादुर कार्कीलाई हटाइएको विषयमा पनि सञ्चारकर्मीले प्रश्न गरेका थिए। उक्त विषय अदालतमा पुगिसकेकाले त्यसबारे टिप्पणी नगर्ने प्रचण्डले बताए।










