काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन समितिले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियामा सहभागीहरूलाई निर्देशन जारी गरेको छ ।

केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले एक विज्ञप्ति जारी गर्दै ७ बुँदे निर्देशन जारी गरेका हुन् ।

ADVERTISEMENT

जसमा निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण गतिविधि पार्टी विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनअनुसार मात्र सञ्चालन गर्नुपर्ने उल्लेख छ । ‘कुनै पनि तहमा अनधिकृत वा समानान्तर प्रक्रिया सञ्चालन गर्न पाइने छैन,’ निर्देशनमा भनिएको छ ।

ADVERTISEMENT

त्यस्तै, व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब, धम्की वा अन्य अनुचित प्रभाव प्रयोग गरी प्रक्रिया प्रभावित गर्ने कार्य स्वीकार्य नहुने बताइएको छ ।

आवेदन दिएको आधारमा आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्ने वा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट उम्मेदवारी घोषणा वा प्रचार गर्ने कार्य विधिविपरीत हुने जारी निर्देशनमा उल्लेख छ ।

‘नेतृत्व विकास कार्यक्रम, योग्यता परीक्षण, मूल्याङ्कन, प्राथमिक निर्वाचनलगायत तोकिएका सबै प्रक्रिया पूरा भएपछि पार्टीले अन्तिम उम्मेदवारको निर्णय गर्नेछ,’ निर्देशनमा भनिएको छ ।

अधिवेशन हुन बाँकी रहेका वडा, पालिका, जिल्ला तथा प्रदेश तहका पार्टी संरचनाले अधिवेशनको तयारी र प्रक्रिया अघि बढाउँदा सम्बन्धित माथिल्लो तहका पार्टी नेतृत्व तथा विभागसँग आवश्यक परामर्श र समन्वय गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

‘सम्बन्धित अधिवेशनको आधिकारिक मिति तथा कार्यतालिका घोषणा हुनुअघि कसैले पनि नेतृत्वका लागि आफ्नो उम्मेदवारी घोषणा गर्न वा प्रचारप्रसार गर्न पाइने छैन,’ रास्वपाले भनेको छ ।

आर्थिक लेनदेन, उपहार, भोजभतेर, धम्की, भ्रामक प्रचार, चरित्रहत्या वा पद र शक्तिको दुरुपयोग गरी निर्वाचन प्रभावित गर्ने कार्य निषेधित गरिएको पनि निर्वाचन समितिले उल्लेख गरेको छ ।

‘आचारसंहिता तथा निर्देशनविपरीत सामाजिक सञ्जाल वा अन्य माध्यममा सामग्री प्रकाशित वा साझा गर्न पाइने छैन,’ केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पार्टीको निर्देशन, विधान तथा आचारसंहिता उल्लङ्घन गर्ने जोसुकैलाई उल्लङ्घनको प्रकृति र गम्भीरताका आधारमा उम्मेदवारी खारेजी, प्रक्रियाबाट निष्कासन, जिम्मेवारीबाट हटाउनेदेखि विधानबमोजिम निलम्बन वा पार्टी सदस्यता समाप्तिसम्मको कारबाही हुन सक्ने बताइएको छ ।

‘साथै, आचारसंहिता तथा आधिकारिक निर्देशनविपरीत प्रकाशित वा साझा गरिएका सामग्री तत्काल हटाउन सम्बन्धित सबैलाई निर्देशित गरिन्छ,’ निर्देशिकामा भनिएको छ ।

निर्वाचन, अधिवेशन, उम्मेदवार छनोट तथा संगठनात्मक प्रक्रियासँग सम्बन्धित पार्टीका आन्तरिक दस्तावेज, निर्णय, छलफल, पत्राचार, अभिलेख तथा व्यक्तिगत विवरणको गोपनीयता कायम राख्नुपर्ने पनि बताइएको छ ।