काठमाडौँ । मधेश प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिएको छ। नेकपाबाट सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसमक्ष राजीनामा बुझाएका छन्।
नेकपा संसदीय दलको भर्चुअल बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि मन्त्रीहरूले राजीनामा दिएका हुन्। राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहा छन्।
गत असोज ३० गते नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएपछि सरकार अल्पमतमा परेको थियो। सरकारले विश्वासको मत लिनुपर्ने समयसीमा नजिकिँदै गर्दा नेकपाका मन्त्रीहरूले पनि राजीनामा दिएका हुन्। अब सरकारले आठ दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था छ।
निवर्तमान ऊर्जामन्त्री जवाहर कुशवाहाले सरकारलाई राजनीतिक निकास दिन र नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन राजीनामा दिएको बताए। सरकारको कामकारबाहीप्रति असन्तुष्टि भएर नभई अल्पमतको समस्या समाधानका लागि यस्तो निर्णय लिएको उनको भनाइ छ।
नयाँ सत्ता समीकरणमा नेकपा कुन दलसँग जाने भन्नेबारे भने उनले तत्काल केही बताउन चाहेनन्। चार मन्त्रीको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीचको समीकरण थप निर्णायक बनेको छ।










