काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
सुनसरी घटनालगायत विषयमा छलफल गर्न बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा भाग लिएर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले मुलुकमा असहज परिस्थिति उत्पन्न भएका बेला प्रधानमन्त्री वालेन्द्र शाहले नेतृत्वदायी र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा आफूले बैठकमा जोड दिएको बताए ।
बैठकमा सहभागी भएर निस्किएका थापाले भने, ‘माननीय सभापति मार्फत हामीले सरकारलाई प्रश्न राखेका छौँ । यतिखेर सरकार के गर्दैछ ? कहाँ छ ?’सरकार बन्दुकको गोलीमा मात्र सीमित हुनुहुन्न । स्टाटसमा मात्र भेटिनुहुन्न । सरकार अभिभावक मात्र होइन, सरकार लिडर पनि हो । लिडरको सबैभन्दा ठूलो स्ट्रेन्थ भनेको उसले कोलाबोरेट गर्न सक्नुपर्छ । उसले अरुलाई विश्वास गर्न सक्नुपर्छ अनि अरुले पनि उसलाई विश्वास गर्छ ।’
उनले यस्तो अवस्थामा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनु पर्ने बताए । ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौंदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ । शान्ति, सद्भाव कायम गर्न एकताबद्ध भई आमनागरिकमा आह्वान गरौँ भन्ने प्रस्ताव गरेका छौँ’,’ सभापति थापाले भने, ‘अवाञ्छित गतिविधि हुन नदिन सावधानी अपनाउन आग्रह गरेका छौँ । सरकार जनताको अभिभावक पनि हो । यस्तो समयमा प्रधानमन्त्रीले तीनवटै सरकारसँग संवाद गरेर शान्ति एवं सद्भाव कायम गर्नेतर्फ लाग्नुपर्छ ।’





