काठमाडौँ । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको पुनर्निर्माणका लागि नेपाललाई ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदीय विशेष समितिको बैठकमा विपद्बाट भएको क्षति र पुनर्निर्माणको आवश्यकताबारे जानकारी दिँदै यस्तो बताएका हुन्।

उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय योजना आयोग र विश्व बैंकको प्रारम्भिक मूल्यांकनले विपद्बाट २.७ देखि २.८ अर्ब अमेरिकी डलर बराबरको क्षति तथा नोक्सानी भएको देखाएको छ।

ADVERTISEMENT

यसमा करिब १.८ अर्ब डलर भौतिक संरचनामा भएको क्षति र करिब १ अर्ब डलर आर्थिक तथा अन्य नोक्सानी रहेको छ। विपद्पछि पाँच दिनभित्रै प्रारम्भिक मूल्यांकन गरिएको मन्त्री वाग्लेले बताए।

ADVERTISEMENT

क्षतिग्रस्त संरचनालाई पुरानै अवस्थामा फर्काउने मात्र नभई आधुनिक प्रविधि र विपद् प्रतिरोधी मापदण्डअनुसार पुनर्निर्माण गर्नुपर्ने भएकाले लागत बढ्ने उनको भनाइ छ।

राष्ट्रिय योजना आयोगले घरघरमा पुगेर क्षतिको विस्तृत विवरण संकलन गरिरहेको र विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) प्रतिवेदनले पुनर्निर्माणको वास्तविक आवश्यकता स्पष्ट पार्ने अपेक्षा गरिएको उनले बताए।

अर्थमन्त्री वाग्लेका अनुसार उद्धार, राहत र तत्कालीन पुनरुत्थानका लागि आवश्यक रकम सरकारले आफ्नै बजेट, राजस्व तथा मित्रराष्ट्रबाट प्राप्त अनुदानमार्फत व्यवस्थापन गरिरहेको छ। पुनर्निर्माणका लागि आगामी तीन वर्षमा आवश्यक पर्ने स्रोत जुटाउने प्रक्रिया पनि सुरु भइसकेको छ।

उनले पुनर्निर्माणमा रकम अभाव हुन नदिने जिम्मेवारी अर्थ मन्त्रालयले लिएको बताउँदै स्रोतको विवेकपूर्ण उपयोग गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री उद्धार कोषमा हालसम्म करिब १८ अर्ब रुपैयाँ संकलन भएको जानकारी दिँदै उनले उक्त रकम निर्धारित कार्यविधिअनुसार आवश्यकता र प्राथमिकताका आधारमा खर्च गरिने स्पष्ट पारे।