काठमाडौं । करका दर हेरफेर विवाद चर्किरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा केही त्रुटि भएको स्वीकार गर्दै त्यसको जिम्मेवारी आफूले लिने बताएका छन्। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा बोल्दै उनले आर्थिक विधेयकमा करका दर र शुल्कसम्बन्धी केही विषय कर्मचारीको कमजोरीका कारण छुट्न गएको दाबी गरे।
अर्थमन्त्री वाग्लेले आफूले व्यक्तिगत रूपमा कुनै विवरण परिवर्तन नगरेको स्पष्ट पार्दै अर्थ मन्त्रालयको अभिभावकका रूपमा कर्मचारीले गरेको गल्तीको जिम्मेवारी भने आफूले लिनुपर्ने बताए। “अर्थमन्त्रीले टाइप गरेर बिगारेको होइन। तर म मन्त्रालयको गार्डियन हुँ, कर्मचारीले गरेको गल्तीको अपनत्व लिनुपर्छ,” उनले भने।
उनका अनुसार जेठ १५ गते संसद्मा पेश गरिएको आर्थिक विधेयकमा एक ठाउँमा करको दर र अर्को ठाउँमा शुल्कसम्बन्धी त्रुटि भेटिएपछि मन्त्रालयले जेठ १७ गते संघीय संसद् सचिवालयमा पत्र पठाएर सच्याउन अनुरोध गरेको थियो। कर्मचारीहरूले राति अबेरसम्म काम गर्ने क्रममा केही बुँदा छुटेको जानकारी गराएपछि सुधार प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो।
तर विधेयक संशोधनको संवैधानिक तथा संसदीय प्रक्रियाबारे भने विवाद कायमै छ। प्रतिनिधिसभा नियमावलीअनुसार विधेयकमाथि सामान्य छलफल, विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृति र सांसदहरूलाई संशोधन प्रस्ताव दर्ता गर्ने अवसर प्रदान गरेपछि मात्रै संशोधन प्रक्रिया सुरु हुने व्यवस्था छ। हालसम्म ती प्रक्रिया नै सुरु नभएको अवस्थामा अर्थ मन्त्रालयले ‘त्रुटि सुधार’ शीर्षकमा संसद् सचिवालयलाई पत्र पठाएको विषयलाई विपक्षी दलहरूले प्रश्नको विषय बनाएका छन्।
विपक्षी दलहरूको प्रश्न छ—त्रुटि सुधारको कानुनी आधार के हो? कुन कानुन वा नियमावलीअनुसार संसद्मा पेश भइसकेको विधेयकमा मन्त्रालयले एकतर्फी रूपमा सुधारको प्रस्ताव पठाउन सक्छ? यस्ता प्रश्नमा अर्थमन्त्री वाग्लेले स्पष्ट जवाफ दिएका छैनन्।
यसअघि बुधबारको अर्थ समितिको बैठकमा पनि वाग्लेले आफूविरुद्ध उठाइएका आरोपलाई राजनीतिक प्रेरित भएको संकेत गरेका थिए। उनले बजेटलाई ऐतिहासिक दस्तावेजको संज्ञा दिँदै केही समूहले सरकार र नेतृत्वलाई बदनाम गर्न कर हेरफेरको विषयलाई अतिरञ्जित बनाएको आरोप लगाए।
“रास्वपाको जनादेश अझै केही वर्गले पचाउन सकेका छैनन्। प्रधानमन्त्रीलाई विवादित बनाउने र त्यसपछि अर्थमन्त्रीलाई निशाना बनाउने प्रयास भइरहेको छ,” उनले बताएका थिए।








